मित, मित्र, हितैषी
मित, मित्र, हितैषी ? को हो? के हो? कस्तो अच्चमको प्रश्न। आफैसँग गर्दैछु, राम्रो गर्यो, उसले भनेको मान्यो, उसले भनेको जस्तो गर्यो भने मित, मित्र, हितैषी, उसले भनेको जस्तो मानेन, उसको इच्छा विपरीत आफू चल्न थाल्यो वा भनौं उसको आदेशहरु उपयुक्त रुपमा पालना गर्न सकेन भने अर्थात जानाजान उसको कार्यहरू गरिदिएन भने दुश्मन, कस्तो अच्चम भाव अर्थात महिमा?
चतुर मसँग छ, हामी एकआपसमा खुबै मिल्छौ र पनि कहिलेकाँही उसको बानीदेखि कता-कता कहीँकतै मलाई उसको व्यवहार अपत्यारिलो के नमिलेको जस्तो लाग्छ। हुन त मैले उसलाई केही गरेको पनि छैन, गर्नेवाला पनि छैन र गर्दिन पनि, मैले यसरी विश्वास गर्दा गर्दै उसले म प्रति केही बिस्वासघात गर्यो भनें ? मेरो यौवन, जीवन र समय नै अर्पित छ उ प्रति तर किन अनायास क्षण भरमानै हाम्रो मित्रवत व्यवहार माटोमा मिसिन्छ कि वा मिसिने पो हो कि? कहींकतै एकापसको मित्रवत व्यवहारबाट शत्रुतामा परिणत त हुने हैन? सबै कार्यहरू सकारात्मक परिवेशमा नै हुने गर्दछ र हो पनि, यसरी सकारात्मक परिवेश हुँदा हुँदै किन म आज चतुरको लागि नकारात्मक सोच गर्न बाध्य हुँदैछु? हुँदैन हैं गर्न हुन्न हैं भनी जान्दा जान्दै पनि किन नकारात्मक भावहरू मेरो मनमा आज ?
दुई दिन भयो मेरो साथी चतुर आफ्नै तालमा गुमसुम छ, बोलाउँदा बोल्छ बस त्यति मात्र र भन्छ, "नकारा न, कहिलेकाँही त मलाई तैंले एक्लै छाडी दे न, एक्लै छाड्न सक्दैनस् र?" उसको व्यवहार गएको दुई दिनमा अच्चम नै गर्यो, सायद कसैको यादमा भएको हो कि सोध्न पनि गाह्रो। हुन त मेरै साथी हो, उसको हरेक यावत सबैनै थाहा भएर पनि किन केही कतै, कुनै भाव भङ्गीमाहरू थाहा नभएको मलाई ?साथी, आत्मीय साथी, शब्द नै मिठो, हामी दुई आत्मीय साथी भन्दा पनि पुरानो साथी भन्न रुचाउँछु। सायद उसको पनि कोही आत्मीय साथी थियो होला। केही याद केही छटपटाहट नै थियो होला उसको आफ्नो साथी प्रति अझ प्रस्ट वा स्पष्ट भन्नुपर्दा उसको आत्मीय साथी म, मलाई उसको आफ्नो साथीको बारेमा म पुरानो साथीलाई किन केही भन्न नरुचाएको होला?
नववर्षको नवदिन सबैलाई प्रिय नै हुन्छ। तर यसपालिको नयाँसाल उ केही बोल्न नै खोजेन कसैको याद कसैको छटपटाहट, मैले देखिरहेकोछु बिहान उठ्यो राम्रोसँग नुहायो, हुन त हामी दुवै साकाहारी नै हौं तर त्यसदिन उसले लसुन-प्याज पनि बार्यो, चुपचाप गुमसुमसँग बस्यो वैशाख २ गते पनि नुहाँयो तर झन् वैशाख २ गते अच्चम नै गर्यो। काममा गयो छेउको मन्दिरमा गएर ढोग गरे झैं गर्यो तर मलाई जहाँ सम्म लाग्छ, राम्रो संग उसले ढोग गरेन, सबै त्यहाँ भएभरका पण्डित देखि भिख माग्ने सबैलाई दान गर्यो सबैलाई यसरी आजको दान दिनुको के अर्थ हो. मैले त्यो बुझ्न सकिन? उसको साथीले भन्दै थिए "त्यहाँ गएर रक्सी पिउँछन् अब, बरु खानेकुरा दिएको भए हुने नि?" उसले जवाफ फर्कायो " रक्सी नै खान्छन भन्ने के विश्वास पानी पनि त पिउन सक्छन्, मेरो दिने काम हो,दिए" अच्चम लाग्यो चतुरको जवाफ सुनेर र पनि यसरी आज किन दान गरेको कस्को नाममा मलाई नै सोच्न बाध्य बनायो चतुर ले।
आफ्नो काममा गयो, हामी सँगै नै थियौं धेरै बोल्न नै खोजेन, मलाई उ प्रति उत्सुकता हुँदाहुँदै कतै टोलाईरहेको केही भूतकाल अझै भनुँ पहिला घटेका राम्रा रमाइला कुरा सम्झिएर उसले केही सोच्न बाध्य भएको जस्तो आभास दिइरहेको थियो । जन्मदेखि आजसम्म र अझै भनौं भविष्यमा मित्र यथावत हुने भइनैरहन्छन् वैशाख महिना सकिन सकिन आटेको छ र पनि वैशाख महिनाको सुरुको घटनाले उ प्रति श्रद्धा भनौं वा उसले अझै ती दिनको बारे नभन्दा नैराश्यता लाग्नु म एक बुज्रुकलाई स्वाभाविक नै हो।
मलाई पनि साथीहरुको सम्झना आउँछ,अझ भनौँ किसिम किसिमका साथीहरुको सम्झना आउँछ नै, दानव, दुष्ट नभएका हैनन् साथीहरु, सायद कसैको लागि उनीहरूले भने अनुसार नगर्दा म कसैको लागि दानव दुष्ट नै भए होला, तर मेरो संग्रहमा पनि त दानव र दुष्टको लामालस्कर छ नै, तर पनि चतुर तिमी मलाई त्यो संग्रह मा नहाल ल मेरो बिन्ती छ, कृपया तिमी जे जे भन्छौं म त्यही त्यही मान्छु, तिमी जहाँ जहाँ भन्छौं म त्यही त्यही जाने वा गर्ने प्रयत्न गर्नेछु, तिमी जसो जसो राम राम भन्छु म त्यसै त्यसै हरी हरी भन्नेछु, तिम्रो साथबाट म छुटिने छैन ल, तिम्रो साथ मैले कहिले पनि छोड्ने छैन ल।
उ चुपचाप सुन्छ अनि भन्छ "बढी नाटक गर्छस् नि, ल ल नौटंकी गर्ने अरुपनि धेरै थुप्रै छन्, खुब नाटक आउँछ हगि तँलाई" म भुई तिर कृतव्यविमुड हुन्छु र चुपचाप बस्छु। उसको आज्ञाकारी एक साथी न हु म ।